राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरमा कालोपत्र सुरु

वेलकम खबर
जेष्ठ ३२, २०८१

धनकुटा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको चतरा–मूलघाट–गणेशचोक (तमोर करिडोर) सडकको कालोपत्र सुरु भएको छ । पूर्वी पहाडी जिल्लालाई तराईसँग तथा चीनको नाकासम्म जोड्ने सबैभन्दा छोटो १ सय ५५ किलोमीटर दूरीको उक्त सडकको धनकुटाको फलामेटार खण्डमा बुधबारदेखि कालोपत्र थालिएको हो ।
धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १२ किलोमिटरमा गत वर्ष नै कालोपत्र कार्य थालिने तयारी गरिएकोमा बजेट निकासा नहुँदा उक्त काम रोकिएको थियो । पूर्वी पहाडी जिल्लाको आर्थिक रणनीतिक महत्त्वका रूपमा हेरिएको तमोर करिडोरमा चार अर्ब १६ करोडमा कालोपत्र गर्न ठेक्का सम्झौता भएको आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए । दुई प्याकेजमा रहेको ठेक्का सम्झौता अनुसार मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीले २ अर्ब ४० करोडमा र बाँकी खण्ड एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेका छन् ।
कालोपत्रको काम अघि बढिरहेको उक्त सडकमा मूलघाटदेखि पाँचथरसम्म यातायात साधन समेत सञ्चालन हुँदै आएका छन् । पूर्वी पहाड र संघीय राजधानी काठमाडौं तथा भारत र चीनसम्म यो सडकले सीधा सम्पर्क जोड्ने हुँदा महत्त्वका रूपमा लिइन्छ । २०८० कात्तिकमा कालोपत्रको तयारी गरिए पनि आवश्यक बजेट विनियोजन हुन नसक्दा राष्ट्रिय गौरवको आयोजनाको उक्त सडकमा कालोपत्र कार्य ढिलाइ भएको थियो ।

२०८२ साल कात्तिकसम्म समयसीमा रहेकोले द्रुत गतिमा कालोपत्रे कार्य अघि बढाइने आयोजना प्रमुख निरौलाको दाबी छ । उक्त कार्यका लागि हाल ३० करोड बजेट विनियोजन भएपछि कामलाई अघि बढाउन सहज भएको उनको भनाइ छ । ‘समयसीमाभित्र काम सक्ने हाम्रो योजना छ,’ उनले भने, ‘केही ठाउँमा पहिलो चुनौती भए पनि अन्य प्राविधिक समस्या भने छैन ।’
पहिलो खण्डमा चौबीसे गाउँपालिका–४ फलामेटारमा एक किलोमिटर दूरीसम्म कालोपत्र कार्य थालिएको कम्पनी रौता क्षमादेवी जेभीका अजन दाहालले बताए । उक्त स्थानमा काम सकिएपछि लगत्तै फलामेटार–सदामटार–मुर्कुटे–कुशेटारसम्मको पाँच किलोमीटर दूरीसम्म कालोपत्र गरिने छ ।
२०६५ सालदेखि थालनी गरिएको मूलघाटदेखि सुभाङसम्म ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो । ४४ किलोमिटर सडकमा नाली निर्माणको कार्य समेत सकिएको आयोजनाका सूचना अधिकारी जयराम अधिकारीले बताए । ‘केही स्थानमा पहिरो चुनौती भए पनि त्यसको अध्ययन गरेर हामी कामलाई अघि बढाइरहेका छौं,’ उनले भने, ‘समयसीमाभित्र फिदिमसम्म कालोपत्रे कार्य सकिने हाम्रो योजना छ ।’ यस वर्षभित्र ८० र अर्को वर्ष बाँकी ३० किलोमिटरमा कालोपत्रे कार्य सकिने उनको भनाइ छ ।
यस्तै, धनकुटा र पाँचथरसम्मको स्थानमा ९ वटा मोटरेबल पुल निर्माणको कार्य समेत भइरहेको छ । सडक विभागअन्तर्गत पुल सेन्टर धरानले पुल निर्माणको काम गरिरहेको छ । तर, सडकको कामभन्दा पुल निर्माणको काम धिमा गतिमा मात्र भएको गुनासो बढेको छ ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*