काबेलीका दुई जलविद्युत् आयोजनाका सुरुङको ‘ब्रेक थ्रु’

आनन्द गौतम
२० चैत्र २०८०, मंगलवार ०७:४८

ताप्लेजुङ  । काबेली नदीको पानीबाट उत्पादन गर्ने दुई जलविद्युत् आयोजना सुरुङ मार्गको पाँचदिनमा ‘ब्रेक थ्रु’ भएको छ । २१.९ मेगावाटको काबेली–३ जलविद्युत् आयोजना र १२ मेगावाटको सुपर काबेली खोला ए क्यास्केटको ‘ब्रेक थ्रु’ भएको हो ।यी दुवै आयोजना ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन छन् । समग्रमा ७० प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ ।

काबेली–३ को आइतबार बेलुका र सुपर काबेली ‘ए’को बिहीबार बेलुका ‘ब्रेक थ्रु’ भएको हो । काबेली–३ का जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले मान्छेले हातले ड्रिल गरेर एक महिनामा १ सय ८० मिटरसम्म सुरुङ खनेको वताए । ‘मान्छेले हातले ड्रिल गरेर एक महिनामा १ सय ८० मिटर टनेल खन्न सफल भयौं,’ उनले थपे, ‘यो नेपालको सायद पहिलो रेकर्ड हो र हामी गर्नसक्छौं र अरुले पनि सक्छन् भन्ने उदाहरण पनि हो ।’

१ हजार ८ सय ७४ मिटर लामो काबेली–३ सुरुङमार्गको निर्माण जेठ ११ गतेदेखि सुरु भएको थियो । काबेली हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको यो आयोजनाले सिरिजंगा–५ पेदाङ, ६ मामांखे र ७ नम्बर वडा खेवाङसम्म भेट्छ । वडा नम्बर ७ खेवाङ र ८ याम्फुदिन भएर बग्ने सुपर काबेलीको सुरुङ निर्माण पुस २५देखि सुरु भएको थियो ।

हिल्टन हाइड्रो इनर्जी प्रवर्द्धक रहेको यो आयोजनाको सुरुङ १ हजार ८ सय ३७ मिटर रहेको छ । यो आयोजनाले समग्रमा ७५ प्रतिशत काम पूरा भएको जनाएका छन् । दुवैले भदौ/असोजसम्ममा आयोजना सम्पन्न हुने जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*