रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्यो

वेलकम खबर
माघ १३, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ । नागरिकता विवाद प्रकरणमा रवि लामिछानेको नागरिकता अमान्य घोषित भएसँगै लामिछानेलाई पक्राउ गर्ने बाटो खुला भएको हो ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले प्रयोगमा ल्याएको नागरिकता खारेज भइसकेको नागरिकता रहेको ठहर गर्दै उक्त नागरिकतालाई अमान्य घोषित गरिदिएको थियो ।

लामिछानेले आफूखुसी अमेरिकाको नागरिकता लिइ नेपाली नागरिकता त्याग गरिसकेपछि एकै समयमा पुरानै नेपाली नागरिकता प्रयोग गरी पासपोर्टसमेत लिएको पाइएपछि सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयकै निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले दोहोरो नागरिकता प्रयोगको सम्बन्धमा छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर जिम्मेवारी तोकेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले दोहोरो नागरिकताको प्रयोगको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग र नेपालस्थित अमेरिकी दूतावासबाट समेत सो सम्बन्धमा बुझ्ने काम गरिरहेको छ । लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट लिएको कुरा यस अघि नै बाहिर आइसकेको छ। लामिछानेले ५ मार्च २०१४ मा अमेरिकी नागरिकका रुपमा पासपोर्ट बनाई नेपाल आएपछि अमेरिकी पासपोर्ट र नागरिकता त्याग नगरी २७ मे २०१५ मा नेपालबाटै अर्को नागरिकता बनाएका थिए। सोही सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

नेपाल नेगरिकता ऐन, २०६३ ले नेपालमा दोहोरो नागरिकता लिन प्रतिबन्ध लगाएको छ। कुनै विदेशीले झूटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेमा निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ। नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा २१ को को उपदफा १ मा विदेशी नागरिकले झूठो विवरण दिई नागरिकता लिएमा वा प्राप्त गरेमा हुने सजायबारे उल्लेख गरिएको छ ।

सन् २०१५ मा रवि लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली राहदानी प्राप्त गरेको कारण सोही दफा अनुसार फौजदारी कसुरमा अनुसन्धान र सजाय हुन सक्नेछ । नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ मा यस्तो व्यवस्था रहेको छ ।

‘२१.दण्ड सजाय’

(१) कुनै विदेशीले नेपाली नागरिक भएको दावी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।’

सोही दफाको उपदफा ३ मा ‘कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*