सातै प्रदेशले पाए आलोपालो शर्तका मुख्यमन्त्री

वेलकम खबर
पुस २८, २०७९

काठमाडौं । केन्द्रमा सरकार गठन भएसँगै सबै प्र्रदेशले पनि मुख्यमन्त्री पाएको छ। सत्ता गठबन्धन दलहरूबीच लामो समयसम्म चलेको भागबन्डाको रस्साकस्सीपछि प्रदेशहरूले मुख्यमन्त्री पाएको हो। नेकपा एमाले नेतृत्वको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए।

प्रचण्डलाई प्रधानमन्त्रीमा गठबन्धनले समर्थन गरेसँगै प्रदेशको मुख्यमन्त्रीका लागि अन्य दलबीच बाँडफाँटको गृहकार्य सुरु भएको थियो। बुधबारसम्म सबै प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो भएको हो । भागबन्डामा सहमति जुट्दा अहिलेको अवस्थामा एमालेले ४, माओवादीले २ र जनता समाजवादी पार्टीले एउटा प्रदेशमा मुख्यमन्त्री पाएका छन्।

दलबीच भएको सहमतिअनुसार अहिले बनेका मुख्यमन्त्रीमध्ये कसैको पनि पूर्ण कार्यकाल भने रहनेछैन। गठबन्धन दलबीच केन्द्र र प्रदेशमा आलोपालोका विषयमा भने फरक मत देखिएको छ।मधेस प्रदेशमा जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो हुनेछ भने बाँकी प्रदेशमा एमाले र माओवादीबीच आलोपालो हुने देखिएको छ।

यससँगै केन्द्रदेखि प्रदेशसम्मको सरकारलाई समर्थन दिने दलहरूको सङ्ख्या ११ पुगेको छ, जसमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी, हाम्रो नेपाली पार्टी रहेका छन्।

सरोज यादवको नेतृत्वमा मधेस सरकार

जनता समाजवादी पार्टीका सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री बनेका छन् । कुल १०७ सिटको प्रदेशसभामा बहुमतका लागि ५४ सिट आवश्यक रहन्छ। तर, यादवले १०७ जनामध्ये ६३ जनाको समर्थन पाएका छन्। ६३ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित यादवले बुधबार मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गरेका थिए। उनलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादव मधेस प्रदेशका निवर्तमान सभामुखसमेत हुन् ।

जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, माओवादीका ९, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीका १÷१ तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यले उनको पक्षमा समर्थन गरेका थिए। मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज (२८ पुस) अपराह्न ४ बजेसम्मको समय तोकिएको थियो। सत्ता गठबन्धनमा रहेका दलहरूबीच मधेस सरकारको नेतृत्वका लागि जसपा र जनमतले आलोपालो गर्ने विषयमा सहमति भएको थियो । त्यसैअनुरूप पहिलो कार्यकालका रूपमा जसपाले सरकारको नेतृत्व गर्दै छ।

गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म
पहिलो जितमा सभामुख, दोस्रो जितमा मुख्यमन्त्री

सिम्रौनगढ नगरपालिका– ३ स्थायी घर भएका यादव १० माघ २०२८ मा जन्मिएका हुन् । बीएस्सीसम्मको अध्ययन गरेका यादव विद्यार्थी हुँदैदेखि नै राजनीतिमा रुचि राख्ये। सद्भावना पार्टीबाट उनले आफ्नो राजनीतिक यात्रा सुरु गरे र २०५४ सालमा उनी तत्कालीन हरिहरपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित पनि भए।

पहिलो संविधानसभा (२०६४ साल)मा बारा– १ बाट निर्वाचित यादव माधवकुमार नेपाल नेतृत्वको सरकारमा २०६६ सालमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए। त्यस्तै, २०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि उनी स्वास्थ्य राज्यमन्त्री भएका थिए। २०६९ सालमा तत्कालीन सद्भावना पार्टीको महासचिव र २०७३ सालमा उपाध्यक्ष बने। पछि विभिन्न मधेस केन्द्रित दलहरूको एकताबाट बनेको राजपामा पनि उनी उपाध्यक्ष बने।

तत्कालीन राष्ट्रिय जनता पार्टीबाट २०७४ सालको निर्वाचनमा बारा– १ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका यादव यस पटक पनि त्यसै क्षेत्रबाट निर्वाचित भएका हुन् । २०७४ सालमा राजपाबाट प्रदेशसभा प्रवेश गरेका उनी प्रदेशको पहिलो सभामुख पनि भए। उनी सभामुख हुँदै गर्दा तत्कालीन राजपाले उपेद्र यादव नेतृत्वको पार्टीसँग एकता गर्‍यो र नयाँ पार्टीको रूपमा जसपाको निर्माण भयो।

पछि जसपाबाट तत्कालीन राजपाका महन्थ ठाकुर, उपेन्द्र महतो जस्ता नेताहरू अलग्गिएका थिए। तर, उनी सभामुख भएकाले त्यतिबेला कुनै पनि पार्टीसँग नजिकिएनन्। पछि उनले उपेन्द्र यादव नेतृत्वको जसपा रोजे । २०७९ सालको निर्वाचनमा त्यही जसपाबाट टिकट लिँदै निर्वाचनमा विजयी भए । पहिलो पटकको निर्वाचनमा जित्दा सभामुख बनेका उनी दोस्रो जितमा भने मुख्यमन्त्री नै बने ।

लुम्बिनीमा एमालेका लीला गिरी बने मुख्यमन्त्री

एमाले संसदीय दलका नेता लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि २७ पुस ४ बजे सम्मको समयसीमा तोकेर २१ पुसमा दलहरूलाई आह्वान गरेका थिए।

प्रदेश प्रमुखले दिएको समयभित्रै गिरीले ५८ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्नेमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्तिका ४, लोसपा–जसपा–जनमतका ३÷३ र स्वतन्त्र २ जना सांसद छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ।

तत्कालीन रूपन्देही जिल्लाको शङ्करनगर गाउँ विकास समितिको पहिलो जननिर्वाचित अध्यक्ष बनेका गिरी २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसबेलाको प्रदेश सरकारमा उनले उद्योग, वन, पर्यटन, वातावरण मन्त्री तथा आन्तरिक मामिला तथा कानुन र स्वास्थ्यमन्त्रीसमेत बनेका थिए। सत्ता साझेदार दलमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेलाई नै दिने विषयमा सहमति भएको थियो । २९ सिटसहित एमाले लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलसमेत हो ।

पहिलो पटक सांसद बनेका शर्मा कर्णालीका मुख्यमन्त्री

माओवादीका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यससँगै शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन्। ४० जना सांसद रहेको कर्णालीमा बहुमतका लागि २१ सिट चाहिने भए पनि शर्मालाई २५ जना सांसदले समर्थन गरेका छन्। उनले माओवादीका १३, एमालेका १०, राप्रपाका १ र नेकपा एसको १ जना सांसदको समर्थन पाएका छन् ।

माओवादी पोलिटब्युरो सदस्य शर्मा पहिलो पटक संसदीय राजनीतिमा आएका थिए । पहिलो पटक चुनावमा भाग लिएका उनी आफ्नो पहिलै प्रयासमा प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका हुन्।कर्णालीमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्दै छ । यही सहमतिअनुसार पहिलो साढे २ वर्षका लागि शर्मा मुख्यमन्त्री बनेका हुन् । त्यसपछि कर्णालीको सरकारमा एमालेले नेतृत्व लिनेछ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल

सुदूरपश्चिम प्रदेशमा पनि एमालेबाटै मुख्यमन्त्री बनेका छन्। एमाले संसदीय दलका नेता राजेन्द्र रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।

रावलले आज मुख्यमन्त्रीको शपथ लिँदै छन्। ५३ सिटको सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सिटको बहुमत आवस्यक रहन्छ । रावलले २९ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

उनलाई एमालेसहित माओवादी, नागरिक उन्मुक्ति र राप्रपाले समर्थन गरेका छन् । नागरिक उन्मुक्तिले गठबन्धनलाई समर्थन दिने वा नदिनेमा अल्मलिएको थियो। रेशम चौधरीको रिहाइको माग गरेको नाउपाले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको आश्वासनपछि सुदूरपश्चिममा सरकार गठबन्धनका लागि आफ्नो समर्थन दिएको हो। मुख्यमन्त्री बनेका रावल एमालेबाट समानुपातिक कोटामार्फत प्रदेशसभामा प्रवेश गरेका थिए ।

एमाले र माओवादीबीच भएको सहमतिअनुसार एमालेका रावलको कार्यकाल साढे २ वर्षको मात्र रहनेछ। आलोपालोको सहमति भएकाले बाँकी साढे २ वर्षका लागि माओवादीले मुख्यमन्त्री पाउनेछ।
त्यस्तै, प्रदेश– १ र बाग्मती र गण्डकी प्रदेशमा यसअघि नै मुख्यमन्त्री बनिसकेका छन्। प्रदेश– १ मा एमालेका हिक्मतकुमारी कार्की २२ पुसमै मुख्यमन्त्री नियुक्त भइसकेका छन् । उनले भोलि (शुक्रबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

६० जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन्। उनलाई एमालेका ४०, माओवादीका १३ राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन छ। त्यस्तै, बाग्मती प्रदेशमा माओवादीका शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बनिसकेका छन् । २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका उनले २६ पुसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका थिए।

७० सांसदको समर्थनसहित जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन छ। गण्डकी प्रदेशमा पनि २५ पुसमै मुख्यमन्त्रीको टुङ्गो लागिसकेको छ।

यहाँ एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन्। एमाले, माओवादी, राप्रपा र नेकपा एसका सहित ३३ जना सांसदको समर्थनमा अधिकारीले मुख्यमन्त्री बनेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*