दल र शीर्ष नेताबाटै समानुपातिक प्रणालीको दुरुपयोग
काठमाडौं । पार्टीमा योगदान नै नभएकालाई समानुपातिकबाट सांसद बनाइएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले), कांग्रेस, माओवादी केन्द्रलगायतका दलभित्र तीव्र असन्तुष्टि बढेको छ । एमालेभित्र परिवार दलबाट आएका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाइएको भन्दै तीव्र विरोध र आपत्ति भइरहेको छ ।
सामाजिक सञ्जालमा एमालेका कार्यकर्ता तथा शुभचिन्तकबाटै पार्टीभित्र अमूल्य योगदान गरेकालाई हटाएर शून्य योगदान भएका ढकाललाई समानुपातिक सांसद बनाएको भन्दै एमाले नेतृत्वको चर्को आलोचना भएको छ । एमालेका आमकार्यकर्ताहरूले यस्तो निर्णयले पार्टी झनै कमजोर बन्न सक्ने भएकाले सच्याउन नेतृत्वलाई सुझावसमेत दिएका छन् ।
उता नेपाली कांग्रेससहितका दलले पार्टीकै शीर्ष नेताका श्रीमतीलाई समानुपातिकबाट सांसद बनाएपछि दलबीच असन्तुष्टि बढेको हो ।
समानुपातिक सिद्धान्त संसद्मा प्रतिनिधित्व हुन नसकेका विभिन्न वर्ग, लिंग, समुदाय, क्षेत्रका व्यक्तिलाई संसद्मा सहभागिता गराउनका लागि हो । तर, नेपाली राजनीतिमा शीर्ष नेताले समानुपातिक प्रणालीलाई गलत रूपमा प्रयोग गरेपछि सर्वसधारणबाट व्यापक आलोचना भएको छ ।
ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका राजनीति शास्त्रका पूर्व प्राध्यापक एवं राजनीतिक विश्लेषक देवेन्द्र मिश्रले समानुपातिक सिद्धान्तलाई नेपालका राजनीतिक दल र नेताहरूले गलत रूपमा प्रयोग गरेको बताए । संसद्मा सबै वर्ग, क्षेत्र, समुदाय, लिंग, जातजातिको प्रतिनिधित्वका लागि समानुपातिक प्रणाली अपनाइए पनि दल र नेताले यसको दुरुपयोग गरेको मिश्रको भनाइ छ ।
जुन आवश्यकताअनुसार समानुपातिक प्रणाली अपनाइएको हो, राजनीतिक दल र शीर्ष नेताहरूले त्यसको व्यापक दुरुपयोग गरिरहेका छन्, यसले लोकतन्त्र नै खतरामा पर्ने देखिन्छ
देवेन्द्र मिश्र, राजनीतिक विश्लेषक
‘समानुपातिक सिद्धान्तको मर्म र भावनाविपरीतका क्रियाकलाप भइरहेको छ । शासन सत्तामा सधंै रजाइँ गर्नेदेखि व्यापारी घरानालाई समेत समानुपातिकबाट सांसद बनाइएको छ,’ मिश्रले भने, ‘जुन आवश्यकताअनुसार समानुपातिक प्रणाली अपनाइएको हो, राजनीतिक दल र शीर्ष नेताहरूले त्यसको व्यापक दुरुपयोग गरिरहेका छन्, यसले लोकतन्त्र नै खतरामा पर्ने देखिन्छ ।’
यस्तै, आमनिर्वाचनमा राजनीतिक दलहरूले लोकतन्त्रविरुद्ध गठबन्धन गरेर निर्वाचनमा सहभागी हुनुले समेत लोकतन्त्रलाई चुनौती दिएको उनले बताए । लोकतान्त्रिक प्रणालीअनुसार राजनीतिक दल र नेताले आफूलाई सुधार नगरे भोलिको दिनमा यसले गम्भीर संकट ल्याउन सक्ने उनले चेतावनी दिए ।
प्रधानमन्त्री र गृहमन्त्रीका श्रीमती समानुपातिकबाट सांसद
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका श्रीमती डा. आरजु राणा देउवा, गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण समानुपातिकबाट सांसद भएका छन् ।
कांग्रेसको खसआर्य महिला कलस्टरबाट राणा र खाँण सांसद भएका हुन् । यस्तै, कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारीलाई समेत समानुपातिकबाटै सांसद बनाउने निर्णय पार्टीले गरेको छ ।
यस्तै, एमालेभित्र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापा पनि समानुपातिकतर्फबाट सांसद चुनिएकी छन् ।
संघीय संसद्मा मात्रै नभई प्रदेशमा पनि नेताका श्रीमती सांसद चुनिएका छन् । एमालले नेता भीम आचार्यकी श्रीमती मीरादेवी खनाल आचार्यलाई प्रदेश १ को प्रदेशसभामा समानुपातिक सांसद चयन गरेको छ ।
– एमालेमा तीव्र आक्रोश, कांग्रेस माओवादी केन्द्रमा पनि असन्तुष्टि
– लोकतन्त्र खतरामा पर्न सक्ने चेतावनी
ठूला दल मात्रै नभई साना दलले समेत समानुपातिक प्रणालीको दुरुपयोग गर्नमा अगाडि देखिएका छन् । मधेस प्रदेशसभामा समानुपातिकबाट १ सिट पाएको नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मुहमद रिजवान अन्सारीले सो सिटमा आफ्नी श्रीमती विमला अन्सारीलाई सिफारिस गरेका छन् ।
यसविरुद्ध पार्टी नेता कमलेश्वरप्रसाद साहले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनअघि पार्टीले पठाएको बन्दसूचीअनुसार सो कोटामा आफू सिफारिस हुनुपर्ने उनको माग छ ।
दलहरूले नेताका श्रीमतीका साथै समानुपातिक तर्फबाट आफ्ना आफन्त, नातेदार, विश्वासपात्रलाई समेत सांसदका लागि निर्णय गरेका छन् । एमालेका महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेललाई समानुपातिकतर्फ सांसदका लागि सिफारिस गरिएको छ ।
पूर्वमन्त्री हेमराज राईलाई पनि एमालेले सांसद बनाउने वाचासहित पार्टीमा भित्र्याएको थियो । राई चुनावअघि जनता समाजवादी पार्टी (जसपा) छाडेर एमालेमा प्रवेश गरेका थिए । उनी एमाले प्रवेश गर्नुअघि जसपाको उपाध्यक्ष थिए ।
मधेसी कोटामा पठाइने पाँच जनामा पनि तीन जना पार्टी फेरेका परेका छन् । मधेसी कोटाबाट पूर्वउपसभामुख गंगाप्रसाद यादव पुरुष कलस्टरको पहिलो नम्बरमा छन् । उनी २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गरेका हुन् ।
कांग्रेसबाट दुईपटक संविधान सभा सदस्य भइसकेका अमृतलाल राजवंशी मधेसी कोटाकै दोस्रो नम्बरमा छन् । उनी फेरि सांसद बन्नकै लागि चुनावअघि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् । एमालेले ‘अल्पसंख्यक’को कोटासमेत पूर्ति गर्नेगरी सांसद् बनाइएका राजवंशी कांग्रेसका वडास्तरका कार्यकर्ताले समेत पत्याउन छाडेका थिए । उनी गत मंसिरमा भएको १४औं महाधिवेशनमा कांग्रेस महाधिवेशन प्रतिनिधि हुन खोज्दा वडामै पराजित भएका थिए ।
समानुपातिक सूची बनाउनु अघिल्लो दिन एमाले प्रवेश गरेकी अमृता अग्रहरिले पनि अवसर पाएकी छन् । यसअघि उनी जसपाबाट सांसद भएकी थिइन् । जसपाबाट सांसद नबनाउने संकेत पाएर उनी एमाले प्रवेश गरेकी थिइन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।



















