ताप्लेजुङको विकास र समृद्धि चाहने यी हुन योगेश भट्टराई
योगेश भट्टराई
प्रतिनिधिसभा उम्मेदवार,ताप्लेजुङ
योगेश भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका साँघु–३ मा आमा स्व. महेन्द्रादेवी र बुवा स्व. भीमलालका कान्छा छोराको रूपमा भएको हो ।
साँघुकै नारायणी माविमा विद्यालय शिक्षा प्रारम्भ गर्नुभएका योगेश २०४० सालदेखि उच्च शिक्षाका लागि देशको राजधानी काठमाडौं जानुभयो । त्यसै क्रममा नेपालको लोकप्रिय विद्यार्थी संगठन अनेरास्ववियुमा संगठित हुँदै पञ्चायती व्यवस्थाको अन्त्य र लोकतान्त्रिक गणतन्त्रसम्मको आन्दोलनमा अगुवाइ गर्नुभयो । कठोर पञ्चायती कालमा १८ वर्षको कलिलो उमेरमै जेल पर्नुभएका भट्टराईले पटक–पटक गरी १४ महिना राष्ट्र र जनताका खातिर जेल जीवन बिताउनुभएको छ । अनेरास्ववियु प्रारम्भिक कमिटीबाट संगठित हुँदै केन्द्रीय अध्यक्ष बन्नुभएका भट्टराईलाई ताप्लेजुङको गौरवको रूपमा चिनिन्छ ।
भारतले नेपालको भूमि मिचेको कालपानी क्षेत्रमा काठमाडौंबाट मार्चपासको अगुवाई गर्नुभएका योगेशले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका खातिर दर्जनौं आन्दोलनको नेतृत्व गरेर ताप्लेजुङको गरिमालाई उच्च राख्ने भूमिका खेल्नुभएको छ ।
नेकपा एमालेको आधारभूत तहबाट राजनीतिक जीवन सुरु गर्नुभएका भट्टराई हाल पार्टीको केन्द्रीय सचिवको रूपमा क्रियाशील हुनुहुन्छ । ताप्लेजुङमा क्रियाशील प्रमुख राजनीतिक दलको उच्च नेतृत्वमा उहाँको मात्र उपस्थिति रहेको छ । उहाँ भविष्यमा नेपाल राष्ट्रलाई नेतृत्व गर्ने क्षमता राख्नुहुन्छ । जुन समस्त ताप्लेजुङबासीका लागि गौरवको विषय हो ।
योगेश भट्टराई २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट अध्यधिक मतका साथ विजयी बन्नुभयो । विजयी बनेपछि २०७६ साल साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । मन्त्री बनेलगतै नेपालमा लाखांै पर्यटक भित्र्याउने उद्देश्ले भिजिट नेपाल २०२० सानदार सुरुआत गर्नुभयो । तर, विश्वव्यापी फैलिएको कोरोनाका कारण २०७६ चैत ११ देखि लकडाउन सुरु भयो, जसले भिजिट नेपालको कार्यक्रम प्रभावित भयो ।
सोही संकटको समय पनि केही आशलाग्दा कार्य भने सुरुवात गर्नुभयो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्न निर्णायक पहलकदमी गर्नुभयो । आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सुचारु गर्नुभयो ।
उहाँले ताप्लेजुङको विकासका निम्ति गत ५ वर्षमा अघिल्ला वर्षभन्दा धेरै बजेट विनियोजन गराउन सफल हुनुभयो । जिल्लाका पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी, फुङफुङदेन झरना, मिल्के जलजले, पाथीभरालाई देशको सय गन्तव्य सूचीमा सूचीकृत गरी पूर्वाधार निर्माणका लागि करोडांै रकम विनियोजन गराउन सफल हुनुभयो । ओलाङचुङगोलामा रहेको नेपालको पुरानो डिकीछोलिङ गुम्बालगायत जिल्लाका २९ वटा गुम्बालाई रकम विनियोजन गराउनुभयो भने विभिन्न जातजातिको भाषा, संस्कृति जर्गेनाका लागि जातीय तथा धार्मिक संग्रहालयमा रकम विनियोजन गर्नुभएको थियो ।
ताप्लेजुङ सुकेटार विमानस्थलको विस्तार, स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खेल मैदान, सडक, विद्यालय, स्वास्थ्य, शिक्षा पाथीभरा क्षेत्रमा बृहत् खानेपानी आयोजनामा उल्लेख्य बजेट विनियोजन गर्नुभयो । ताप्लेजुङ जिल्लामा बृहत्तर स्वास्थ्य शिविर सञ्चालन गरी ६० बढी मुटुरोगी बिरामीलाई काठमाडांैमा लगेर ५ करोडभन्दा बढीको निःशुल्क शल्यक्रिया गराउनुभयो । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थासँग समन्वय गरी ताप्लेजुङका ६ दर्जन बढी विद्यालय भवन निर्माण गर्न उल्लेख्य योगदान दिनुभयो भने विद्यालयमा आईसिटी ल्याब निर्माणका लागि सहयोग गर्नुभयो ।
जिल्ला अस्पतालको भौतिक सुधारका लागि उहाँको पहलमा काम भएको छ । कोरोना महामारीको समय जिल्ला अस्पतालमा ५ बेडको आईसियु वार्ड निर्माण गरिएको छ भने अक्सिजन प्लान्ट जडान गरिएको छ । बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक प्रकोपपीडितको उद्धार र राहतमा उहाँ गाउँ–गाउँमा पुग्नुभयो । ताप्लेजुङका समस्यालाई प्रतिनिधिसभामा सशक्त ढंगले प्रस्तुत गर्नुभयो ।
नेपाली राजनीतिमा औंलामा गन्न सकिने थोरै मात्रै नेताहरू छन्, जोप्रति नेपाली नागरिक आशावादी छन् । आशाका ती थोरै अनुहार र आमनेपालीका प्रियमध्येका नेता योगेश पनि एक हुनुहुन्छ । ताप्लेजुङको दुर्गम गाउँमा जन्मेर अनेकौं सामाजिक, राजनीतिक तथा सांस्कृतिक अप्ठेरासँग जुध्दै अघि बढेको एक इमानदार नेता योगेश आफ्नो पार्टीमा मात्रै होइन, अरू पार्टीका नेता–कार्यकर्ता र आमनेपालीबीच पनि त्यत्तिकै प्रशंसा र गौरवको नाम हो । यसमा अझै धेरै गौरव गर्ने मौका ताप्लेजुङले पाएको छ । जिल्लाको भविष्य निर्माणकर्ताका रूपमा सक्रिय उहाँले यस पटक पनि प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । पहिले कोरेका विकासका गोरेटा अझै सुधार गर्दै समृद्ध जिल्ला बनाउन उहाँको नेतृत्व आवश्यक छ ।
राष्ट्रिय राजनीतिको मियो हुँदाहुँदै पनि भट्टराई वर्षौंदेखि राजनीतिक र सामाजिक रूपमा विभेद भोगिरहेको ताप्लेजुङलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाई समृद्ध जिल्ला बनाउने आमजिल्लाबासीको सपना पूरा गर्ने पात्रका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ । सार्वजनिक समारोह, सञ्चारका अनेकौं माध्यम तथा सामाजिक सञ्जालमा भट्टराईको नाम आमनेपाली र अन्य पार्टीका आशलाग्दा युवा नेताहरूले गर्वका साथ लेखिरहेको÷बोलिरहेको पाइन्छ । त्यो केवल कुनै एक घटना वा संयोगले मात्रै होइन, विद्यार्थी राजनीतिदेखि नेपालको ठूलो पार्टीको सचिवसम्म आइपुग्दा उहाँले हिँड्नुुभएको बाटो र देखाउनुभएको उज्यालोका कारण यो सम्भव भएको हो ।
ताप्लेजुङमा भएका सबै जाति, जनजाति, भाषा, धर्म र संस्कृतिप्रति सम्मान गर्ने उहाँ सबैको एकता र सामाजिक सद्भावलाई मूलमन्त्र मान्नुहुन्छ । ताप्लेजुङको विकासका लागि सबैको साथ र सबैको हात लिएर अघि बढ्ने उहाँको प्रतिबद्धता छ । ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनिरहनुभएका बेला उहाँजस्तो व्यक्तित्वलाई निर्वाचनमा विजयी गराउन विभिन्न राजनीतिक विचारप्रति आस्था राख्ने नेता–कार्यकर्ता, ताप्लेजुङका बुद्धिजीवी, नागरिक अगुवा,किसान,मजदुर व्यवसायी, महिला, समाजसेवी, युवा, विद्यार्थी सबैको एकताबद्ध प्रयत्न आवश्यक छ ।



















