एमालेले एकल बहुमत पुर्याने ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एमालेले एकल बहुमत पुर्याने दाबी गरेका छन् ।
शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले शनिबार दमकमा आयोजित चुनावीसभालाई सम्बोधन यसो भनेका हुन्। ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ’, उनले भने । पूर्वप्रधानमन्त्री ओली शनिबार दिनभर झापा क्षेत्र नं. ५ का विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशन दिए ।
‘अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ। तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो’, उनले भने,अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनासाथ अघि बढेका छौँ र जित्छौँ पनि ।’
झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । झापा–५ मा ओली उम्मेदवारका रूपमा खडा भएका छन् । उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रह गरे ।



















