तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन प्रधानमन्त्रीसँग स्थानीयको माग

वेलकम खबर
भदौ १०, २०७९

तेह्रथुम । प्रधानमन्त्री शेरबहादुर देउवाले तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङसहित जिल्लाका जनप्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणका लागि सरकार लागिरहेको बताएका हुन् ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन आउन बाँकी रहेकाले विमानस्थल निर्माण केही ढिला भएको भन्दै प्रतिवेदन आउनेवित्तिकै सरकारले प्राथमिकतामा राखेर निर्माणलाई गति दिने प्रधानमन्त्री देउवाले आश्वासन दिएको भेटमा सहभागी आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।

प्रधानमन्त्रीलाई भेट्न कांग्रेस नेतृ सीता गुरुङ, आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम, फेदाप गाउँपालिका अध्यक्ष केशव भेटुवाल, युवा नेता हेमन्त गुरुङलगायतका नेताहरु बालुवाटार पुगेका थिए ।
नेतृ गुरुङले चुहानडाँडा विमानस्थल निर्माण भए तेह्रथुमले मात्रै नभई छिमेकी जिल्लाहरु पाँचथर र ताप्लेजुङवासी समेत लाभान्वित हुने बताइन् । दुर्गम पहाडी जिल्लालाई हवाई यातायातमा जोड्नका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको गुरुङले बताइन् । आठराई गाउँपालिका–६, चुहानडाँडाको थुम्किडाँडामा विमानस्थल बनाउन २०३२ सालबाटै पहल सुरु भए पनि विमानस्थल भने बन्न सकेको छैन । आठराईको इवामा जन्मिएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माणमा चासो देखाएका छन् ।

यो क्षेत्र तेह्रथुम, पाँचथर र ताप्लेजुङको मध्यभागमा छ । प्रस्तावित विमानस्थलबाट पाँचथरको फिदिम बजार नजीकको दुरीमा पर्छ । यहीबाट मध्यपहाडी लोकमार्गसमेत निर्माण भएकाले हवाई यात्रुलाई विमानस्थलसम्म आउजाउसमेत सजिलो हुने स्थानीयवासीसमेत रहेका प्रदेश सांसद तेजमान कन्दङ्वाले बताए ।
विमानस्थाल निर्माणका लागि २०३२, ०३५, ०६९ र ०७१ सालमा सम्भाव्यता अध्ययन र सर्वेक्षण भइसकेको छ । ०७३ सालमा विमानस्थलको विस्तृत अध्ययन र सर्वेक्षणसमेत भइसकेको छ । विमानस्थल निर्माणका लागि २ सय ७१ रोपनी क्षेत्रफल जमिनमा प्राविधिक सर्वेक्षण भइसकेको छ । सो स्थानमा स्थानीय १० जनाको जग्गा रहेकाले उनीहरुलाई मुआब्जा दिएर अन्यत्र स्थानान्तरण गर्ने काम भने बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*