‘निर्वाहमुखी कृषि प्रणालीमा परिवर्तन ल्याउनुपर्छ’ :केपी ओली

वेलकम खबर
साउन २६, २०७९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपाली जनतालाई खाली गरिबी वितरण भएको वताउँदै अब सम्पन्नता वितरण गर्नेतर्फ जानुपर्ने वताउनुभएको छ ।
अध्यक्ष ओलीले कृषिको महत्व र देशको आत्मनिर्भरतालाई एमालेले बुझ्ने वताउँदै समृद्ध नेपाल निर्माणमा नै हरेक नागरिकको सम्पन्नता निर्भर रहेको र त्यसमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहने विचार व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) को केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागद्वारा बुधबार राजधानीमा आयोजित ‘कमरेड केपी शर्मा ओलीसँग कृषि वैज्ञानिकहरू’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले खाद्य सुरक्षा मानव अधिकारको पहिलो शर्त हो, भोको पेटले अरू कुरा सोच्न सक्दैन भन्नुहुँदै खाद्य उत्पादन पर्याप्त गर्न  निर्वाहमुखी र परम्परागत कृषि प्रणालीमा परिवर्तन गरेर  सघन कृषि प्रणालीमा जानुपर्ने वताउनुभयो ।
‘हामीसँग जस्तो भूगोल, प्रकृति, हावापानी, उर्वरता भएको जमीन छ, त्यस अनुसार सही सदुपयोग गर्न सकेका छैनौं’ चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘हामीले कृषि वनतर्फ जाने कुरामा पनि ध्यान दिनुपर्छ । विश्वका विभिन्न मुलुकमा फलफूल, काजु, मसलाका जङ्गल देख्न पाइन्छ । हामीले पनि आँप जस्ता फलफूल लगायौं भने आम्दानी पनि हुन्छ, जङ्गल पनि हुन्छ ।’
हाम्रो कृषि प्रणालीलाई नयाँ विज्ञान र प्रविधिको प्रयोग गरेर न्यूनतम लागतमा अधिकतम प्रतिफल प्राप्त हुनेतर्फ जानुपर्ने र त्यो कृषि तथा पशुपालन दुवै क्षेत्रमा गर्नुपर्ने उहाँले वताउनुभयो ।

मानिसलाई बाँच्नका लागि खाना अनिवार्य रहेको र खाना सन्तुलित मात्र नभई स्वस्थ पनि हुनुपर्ने हुँदा अर्गानिक कृषि उत्पादनमा जानुुपर्ने चर्चा गर्दै अध्यक्ष कमरेडले भन्नुभयो– ‘अहिले हाम्रो माटो विरामी छ । पहिले विरामी माटोलाई स्वस्थ बनाउनुपर्छ । अलिकति पैसाको लोभले कृषि उत्पादनमा अनेक प्रकारका विषादी र रासायनिक मलको प्रयोग भइरहेको छ । यसबाट माटो मृत्युतर्फ गइरहेको र यसलाई जोगाउन नसके कामै नलाग्ने मरूभूमि हुने छ । हामी माटोलाई मृत्युतर्फ जानबाट जोगाउनुपर्छ ।’


‘नेपालको ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा रहेको र यो अचाक्ली धेरै हो, यसलाई छ गुणा घटाउनुपर्छ र उत्पादन चार गुुणाले बढाउनुपर्छ’ चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘राष्ट्रिय आम्दानीमा भने कृषि क्षेत्रको योगदानलाई घटाउनुपर्छ । उद्योग, व्यापार, सेवा क्षेत्रबाट बढाउनुुपर्छ

।’
कार्यक्रममा डा. विष्णुराज उप्रेतीले ‘नेपालको वर्तमान कृषिको अवस्था र सुधारका सम्भाव्य क्षेत्रहरू’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको  थियो ।
कार्यपत्र प्रस्तुत गर्दै डा. उप्रेतीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा अगाडि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पले कृषि, वन, उद्योग सबै क्षेत्रलाई मार्गदर्शन गरेको वताउनुभयो ।
उहाँले नेपालको विकासको आधार कृषि नै हो भन्दै कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारलाई बढी अधिकार दिनुपर्ने तथा प्रदेश र संघले सहजीकरण गर्नुपर्ने धारणा राख्नुभएको थियो ।


डा.उप्रेतीको कार्यपत्रमाथि प्रा. डा. कैलाशनाथ प्याकुरेल र डा. विमला राई पौडेलले टिप्पणी गर्नुभएको थियो ।
नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा विभाग प्रमुख गिरधारीलाल न्यौपानेको अध्यक्षतामा भएको अन्तर्क्रियामा कृषि मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विश्वविद्यालय र विभिन्न गैर सरकारी संघ संस्थामा रहेर लामो अनुभव बटुल्नुभएका कृषि वैज्ञानिक, कृषि विज्ञ, नीति निर्माता लगायतले आफ्ना सुझाव राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*