पर्यटकले गर्ने खर्च दिनकै १७ डलरले घट्यो
पर्यटन बजार पुरानै लयमा फर्किने आसमा होटल, रिसोर्ट, प्याराग्लाइडिङजस्ता साहसिक र मनोरञ्जनात्मक क्षेत्रमा समेत खर्च गर्दै निजी क्षेत्र
काठमाडौँ । पर्यटकहरूले नेपाललाई धेरै सस्तो मुलुककै सूचीमा राख्दै आइरहेका छन् । भारतबाट ट्यांकरमा बोकेर ल्याइने हवाई इन्धनका कारण महँगो पर्ने ‘एयर–फेयर’ (हवाई भाडा) लाई एकछिन बिर्सिने हो भने विदेशीले नेपालीले नै तिर्ने मूल्यमा खाना, लज, भ्रमण, आन्तरिक यातायात, गाइड, किनमेल गर्न पाउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘प्रतिपर्यटकको नेपालमा हुने प्रतिदिन खर्च’ को आँकडाले पनि यसलाई पुष्टि गर्छ ।
मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेका अनुसार गत आर्थिक वर्ष २०७८र७९ मा भ्रमणमा आएका पर्यटकले दिनको ४८ डलर ९६ हजार १ सय ८ रुपैयाँ० खर्च गरेका थिए । यसअघि योगेश भट्टराईले पर्यटन मन्त्रालयल सम्हालेको वर्ष २०७६र७७ मा पनि ५६ डलर प्रतिदिन लक्ष्य राखिएकामा ८ डलरले घटेर ४८ नै पुगेको थियो । २०७७र७८ मा भने पर्यटकले दिनको ६५ डलरसम्म ९८ हजार २ सय ७१ रुपैयाँ० खर्च गरेका थिए ।
‘क्वारेन्टाइन बसाइका कारण विदेशी पर्यटकको बसाइ अघिल्लो आर्थिक वर्ष १५ दशमलव ५ दिनमा पुग्यो तर आम्दानी अघिल्लो वर्षको दाँजोमा घटेको देखिन्छ,’ योजना आयोग र मन्त्रालयले संयुक्त आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रवक्ता पाण्डेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई सुनाए । उनका अनुसार गत वर्ष सरकारले पर्यटकको प्रतिदिनको खर्च ६३ डलर ९८ हजार १७ रुपैयाँ० पुर्याउने लक्ष्य राखेको थियो । तर, पर्यटकको आगमन १ लाख ५० हजारमै खुम्चिएका कारण विदेशीले प्रतिदिन गर्ने खर्चको लक्ष्य प्राप्त हुन सकेन । गत वर्ष नेपाल आएका पर्यटक २०७६र७७ को पर्यटक आगमनको दाँजोमा करिब साढे १० लाखले कम हो भने २०७७र७८ को दाँजोमा ८० हजारले कम हो ।
होटल संघ नेपाल ९हान० की अध्यक्ष सिर्जना राणाले कोभिडको विश्वव्यापी असर, पश्चिमा मुलुकको आर्थिक मन्दी, युक्रेन र रसियाबीच द्वन्द्वलगायतका कारण नेपालले धेरै आकांक्षा गर्न सकिने अवस्था नहरेको बताइन् । ‘काठमाडौंमै अझै दुइटा ५ तारे होटल लकडाउनपछि खुलेकै छैनन्,’ उनले भनिन्, ‘अझै कोभिड संक्रमण बढ्ने अनुमान सुनिरहेका छौं, त्यसैले गत वर्ष पर्यटकले जति खर्च गरेको तथ्यांक आइरहेको छ, यसमा गुनासो गरिहाल्नुपर्ने देखिँदैन ।’
पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीका अनुसार पछिल्ला वर्ष पर्यटकले ४८ देखि ५५ डलर औसत प्रतिदिन खर्च गर्ने गरेका तथ्यांकहरूमा देखिन्छ । यो आँकडामा पर्यटकले गरेको विस्तृत खर्च विवरण नसमेटिएको जोशीको दाबी छ । ‘अहिले धेरैजसो पर्यटक डिजिटल प्लेटफर्मबाट होटल तथा टुर प्याकेज बुक गरिरहेका हुन्छन् । आफ्नै मुलुकका एजेन्टमार्फत नेपाल भ्रमणमा आउँछन्,’ उनले भने, ‘अझ चिनियाँ पर्यटक त हुइच्याटमार्फत खर्च गर्छन् ।’राष्ट्र बैंक, पर्यटन विभागलगायतले पर्यटकको खर्चबारे तथ्यांक मोडल समयसापेक्ष नभएको भन्दै उनले स्याटलाइट एकाउन्ट सञ्चालन हुनुपर्ने सुझाए । पर्यटकको यथार्थ खर्च र संख्याको तथ्यांक जहिल्यै अपुरो हुने गुनासो आएपछि तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले बोर्डलाई स्याटलाइट एकाउन्ट सञ्चालन गर्न निर्देशन दिए पनि काम अझै सकिएको छैन ।
बोर्डका सीईओ धनञ्जय रेग्मीले स्याटलाइट एकाउन्टका लागि प्रश्नावली बनाउने काम भइरहेको बताए । विदेशमा प्रवर्द्धन, प्रचार र पर्यटक वृद्धि गर्ने उद्देश्य लिई २६ वर्षअघि स्थापना भएको स्वायत्त संस्था पर्यटन बोर्ड छ । गत वर्ष ९२ करोड बजेट विनियोजन गरिएको बोर्डले नेपालमा पर्यटक बढाउन त्यसअघिको वर्ष ५६ करोड खर्च गरेको थियो ।
पर्यटकको आगमनबाट संकलन गरिने १ हजार प्रतिपर्यटक सेवा शुल्क नै मुख्य आम्दानीको स्रोत रहेको यही संस्थाको समेत पर्यटकको संख्या घट्दा आम्दानीमा असर परेको छ । तर, निजी क्षेत्र पर्यटन बजार पुरानै लयमा फर्किने आकांक्षामा होटल, रिसोर्ट, प्याराग्लाइडिङजस्ता साहसिक र मनोरन्जनात्मक क्रियाकलापमा खर्च गरी नै रहेका छन् । गत वर्ष थपिएका २० वटा होटलको संख्याले पनि यो चित्र देखाउँछ ।
मन्त्रालयका अनुसार, गत वर्षसम्म देशभर १८ वटा ५ तारे र १ सय ४४ वटा एकदेखि चारतारे होटल पुगेका छन् । यीबाहेक पर्यटक स्तरीय होटल करिब १२ सय तथा ४ सय हाराहारी होमस्टे छन् । होमस्टेलाई समेत समेट्दा बेड संख्या ५० हजार हाराहारी पुगेको देखिन्छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।



















