देउवामाथि खनिए महामन्त्रीद्वय

पार्टी र सरकार सञ्चालनको कार्यशैलीलाई लिएर प्रश्नैप्रश्न
वेलकम खबर
साउन १, २०७९

काठमाडौँ । कांग्रेसमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी र सरकार सञ्चालनको कार्यशैलीलाई लिएर शेखर कोइरालापक्षीय पदाधिकारी आक्रामक बनेका छन् । सरकारको एकवर्षे कार्यकाल र पार्टी सञ्चालनको ६ महिने अवधिलाई लिएर असन्तुष्टि व्यक्त गर्नेमा महामन्त्री विश्वप्रकाश शर्मा पनि थपिएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा शनिबार महामन्त्रीद्वय गगन थापा र शर्माले पहिलोपल्ट नेतृत्वको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठाएका छन् । जवाफमा देउवाले आफूलाई नखेद्न आग्रह गर्दै सबैलाई मिलाएर अघि बढ्न चाहेको बताएका छन् ।

थापा र शर्माले पार्टी निर्णयका बारेमा मिडियाबाट मात्रै जानकारी पाउने गरेको भन्दै देउवाको कार्यशैलीको चर्को आलोचना गरे । ‘म महामन्त्री हो, सांसद पनि हो, पार्टीको काम र सरकारका काम मैले पत्रिकाबाट थाहा पाएपछि मेरो प्रतिक्रिया पनि पत्रिकामै आउँछ,’ थापाको भनाइ थियो ।

गत बुधबारको बैठकमा संस्थापनपक्षीय चार सदस्यले महामन्त्रीद्वय पार्टीको संस्थागत निर्णयबाट भन्दा मिडियामार्फत प्रचारबाजीमा लागेको र गुटको बैठकमा सहभागी भएको भन्दै आलोचना गरेका थिए । ‘बुढानीलकण्ठमा गुटको बैठक बसेर यहाँ आइपुगेकाहरूले पार्टी प्यालेसमा बैठक बसेको भनेर चिच्याउनुको कुनै अर्थ छैन, घर हुनेले घरमा बस्छ, नहुनेले पार्टी प्यालेसमा बस्छ,’ थापाले भने । उनले आफूलाई मत नहाल्नेले पनि जिम्मेवारी पाउँछ भन्ने सभापतिले देखाए गुट आफैं बन्द हुने बताए ।

‘भ्रातृसंस्था र शुभेच्छुक संस्था बनाउँदा सभापतिज्यूको खेमाकै हुनुपर्ने हो रु’ थापाले थपे, ‘हिजो सुशील कोइराला सभापति हुँदा कसैगरी पेलेर जानुपर्छ भन्नेहरूले आज शेरबहादुर देउवासँग उभिएर कोइरालालाई पेल्नुपर्छ भन्दै उकास्ने रु महामन्त्रीको भूमिका निर्वाह गर्दा भएका कमीकमजोरी सच्याउन दिएको सुझाव स्वागत गर्छु तर कसैले बदनियत राखेर, हतोत्साही गर्न खोजेको भए ख्याल गर, कसैले बाँडेर भएको महामन्त्री होइन । मेरो जिम्मेवारी र कर्तव्य थाहा छ । बिराउँदिनँ, डराउँदिनँ । आफ्नो जिम्मेवारी पूरा गर्छु ।’ थापाले पार्टी सञ्चालनमा विधि नपुगेको ठाउँमा पार्टी सभापतिलाई झक्झकाउने आफूहरूको प्रयत्नमा हैंसे गर्नुको साटो सभापतिको चाकरी गर्ने काम भएको बताए । ‘आफूलाई मत नहाल्ने ४० प्रतिशतलाई पनि समेटेर जानुपर्छ भन्नुपर्नेमा उल्टो पेलेर जान उकास्ने  ?’ सभापतिलाई लक्षित गर्दै थापाले भने ।

महामन्त्री शर्माले पार्टीभित्रको फरक विचार समूहले कस्ता मुद्दा उठाइरहेको छ भन्ने कुरालाई ध्यान नदिईकन आलोचना गर्न नहुने बताए । ‘एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु हाम्रो राजनीतिको विसंगत पाटो हो,’ उनले भने, ‘नेतृत्वको प्रशंसा गर्ने नाममा ओम जय, जगदीश हरे गरेर घण्टी नबजाऔं, आलोचना गर्ने नाममा डन्डा पनि नचलाऔं ।’

शर्माले वैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र पार्टीका केन्द्रीय विभाग गठन गरौं भन्नु नेतृत्वलाई सहयोग हो कि असहयोग भन्ने प्रश्न गरे । ‘हजारौं युवा जिम्मेवारीविहीन छन्, भ्रातृसंस्थालाई पूर्णता दिएर सबैलाई परिचालित गरौं भन्नु असहयोग हो रु विरोध हो रु कि संगठनको काममा गति दिऊँ भन्ने भावना हो रु’ उनले बैठकमा सोधे, ‘अदालतको निर्णय र पार्टीको संस्थागत विचारअनुसार विदेशमा बस्ने नेपालीलाई मताधिकार दिनुपर्छ भनेर निर्वाचन आयोगलाई पहलकदमी लिन आग्रह गर्नु गलत हो रु’

पार्टी विधानले केन्द्रीय विभागलगायत सबै संरचनालाई ६ महिनाभित्र पूर्णता दिनुपर्ने व्यवस्था गरेको छ तर सभापतिले उक्त वैधानिक व्यवस्थालाई बेवास्ता गर्दै पूर्णता दिन आलटाल गर्दै आएका छन् । देउवाले जवाफ दिँदै आफ्नो पनि कुनै बेला क्रियाशील सदस्यता खोसिएको प्रसंग सुनाए । ‘तर अहिले त्यस्तो छैन, मेरो चाहना कांग्रेसलाई पहिलो पार्टी बनाउने हो, फेरि म सभापति हुने होइन, तपाईंहरूले पार्टी चलाउने हो,’ देउवाले भने । भ्रातृसंस्थाको नेतृत्व चयन गर्दाको प्रसंग उल्लेख गर्दै उनले थपे, ‘तपाईंहरूलाई फोन गरेको उठेन । फोन उठाउने गर्नुहोस् । मैले शेखरजीलाई पनि साथै लिएर जान खोजेको छु ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यशक्तिका महत्त्वपूर्ण निकाय आफूमातहत राख्ने निर्णयलाई देउवाले नसच्याएको, विधि र विधानसम्मत पार्टी सञ्चालन नगरेको, सरकारमा सुशासन कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र सम्बन्ध बनाउन चुकेको जस्ता विषय अघि सार्दै महामन्त्रीद्वयले एउटै स्वरमा देउवामाथि पहिलोपल्ट प्रश्न उठाएका हुन् । कार्यशैली सुधार गर्न बालुवाटारमा भेटेर कैयौं पटक आग्रह गर्दा पनि नभएपछि बैठकमा राख्न बाध्य भएको उनीहरूको भनाइ छ ।

थापाले अमेरिकासँगको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा नेपाल संलग्न नहुने भनेर सरकारले निर्णय गरेपछि अमेरिकालाई अहिलेसम्म किन पत्र नपठाइएको भनेर प्रश्न गर्दै तत्काल पत्र पठाउन आग्रह गरे भने शर्माले तत्कालीन प्रधानमन्त्री केपी ओलीको कार्यकालमा शक्तिकेन्द्रित गर्ने निर्णय नसच्याएकामा आफ्नै सरकारको असफलता भनेर चित्रण गरे । तत्कालीन प्रधानमन्त्री ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण र राष्ट्रिय अनुसन्धान विभागलगायत शक्तिशाली निकाय प्रधानमन्त्री कार्यालयमातहत ल्याएका थिए । देउवाले त्यतिबेला ओलीलाई अधिनायकवादीको ‘ट्याग’ लगाएका थिए, अहिले त्यही ट्याग उनीमाथि फर्किएको छ । बालुवाटारले यस्ता शक्तिशाली निकायलाई निजी स्वार्थका निम्ति दुरुपयोग गर्ने गरेको आरोप लागिरहेका बेला शर्माले एक वर्षसम्म पनि त्यसलाई सुधार नगर्नु असफलता भएको शर्माले बताएका हुन् । उनले सरकार सुशासनको विषयमा खरो रूपमा उत्रन नसकेको, संघ र प्रदेशबीच पर्याप्त समन्वय गराउन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

महामन्त्री थापाले संवैधानिक

परिषद्को प्रस्ताविक विधेयक फिर्ता लिनुपर्ने माग गरेका छन् । तत्कालीन ओली नेतृत्वकै सरकारले ल्याएको अध्यादेशका प्रावधानसँग मिल्ने गरी सरकारले संवैधानिक परिषद्सम्बन्धी कानुन संशोधनको तयारी गरेको छ, जसमा अध्यक्ष र तीन सदस्य भए परिषद्को बैठकका लागि गणपूरक संख्या पुग्ने र त्यति संख्याकै बहुमतबाट निर्णय गर्न सकिने प्रावधान छ । सरकारमा र प्रतिपक्षमा रहँदाको भूमिकामा दोहारो मापदण्ड देखिन नहुने भन्दै विधेयक फिर्ता लिन थापा र शर्माले बैठकमा जोड दिएका छन् ।

थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगको प्रस्ताव अघि बढाउन, जनजीविकाका सवाललाई सम्बोधन गर्न र सुशासन कायम गर्न, गलत गर्ने मन्त्री हटाएर दण्डहीनता सहन्न भन्ने सन्देश दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । शर्माले सरकारले अर्थतन्त्रका बारेमा प्रधानमन्त्रीलाई श्वेतपत्र जारी गरेर जनताको विश्वास जागृत गर्न प्रधानमन्त्रीसँग आग्रह गरे । उनले प्रमुख प्रतिपक्षलगायत संसद्मा रहेका सबै दल र विज्ञ अर्थशास्त्रीहरूसहितको सर्वपक्षीय छलफल आयोजना गर्नसमेत प्रधानमन्त्रीसँग आग्रह गरे ।

महाधिवेशनमा फरक प्यानलबाट महामन्त्री जिते पनि पछिल्लो पटक पार्टी र सरकारका कामकारबाहीका विषयमा थापा र शर्मा एकै ठाउँमा उभिएका छन् । सभापति गठबन्धनको बैठक र वार्तामा व्यस्त रहनुपर्ने भए पार्टीका काममा महामन्त्रीलाई अख्तियारी दिन थापाले आग्रह गरे । उनले सभापतिलाई विधानले गर्न भनेर तोकेका १३ वटा काम आफूहरूले अख्तियारी पाए सात दिनभित्रै टुंग्याउने बताए । थापाले संस्थापनपक्षीय सदस्यहरूलाई सभापतिलाई नउकास्न आग्रह गरे । भने, ‘पार्टी सञ्चालनमा विधि नपुगेको ठाउँमा सभापतिलाई झक्झकाउने प्रयासमा हैंसे गर्नॅपर्नेमा उल्टो चाकरी गर्ने  ?

चुनावी तालमेल केका लागि भन्ने प्रस्ट जवाफ प्रत्येक मतदातालाई दिन सक्नुपर्ने थापाले बताए । ‘हामीले भनौंला हाम्रो सरकार बनाउनका लागि हो तर जनतालाई किन गठबन्धन चाहियो भन्ने प्रश्नको हामीसँग उत्तर हुनुपर्छ,’ थापाको भनाइ थियो, ‘हामीले तालमेलबाट जित्यौं, ५ वर्ष तालमेल रहन्छ, स्थिर सरकार र आशातित परिणाम दिन्छ भन्ने ग्यारेन्टी के हो रु’

सभापति देउवाले यसको जवाफ दिँदै गठबन्धन बाध्यता भएको बताए । ‘अहिले एक्लै जाने अवस्था छैन, हामीले नगरे अर्कोले गठबन्धन गरिदिन्छ, गठबन्धनमा जानुपर्ने हामी सबैको बाध्यता हो, सबै कुरा मान्न म तयार छु तर प्रजातन्त्रप्रतिको निष्ठामा ममाथि प्रश्न उठाइँदा झोंक चल्छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी गठबन्धनको विरोध नगरौं । माओवादीलाई पनि धेरै चिढ्याउने काम नगरौं भन्ने मेरो आग्रह छ ।’

शर्माले गत महाधिवेशनमा नेतृत्व चयनको अधिवेशन मात्रै भएकाले नीति अधिवेशनमा जानुपर्ने माग गरेका छन् । उनले नीति अधिवेशनलगत्तै वा अगावै पार्टीले संघ, प्रदेश र सम्पूर्ण स्थानीय तह र वडा तहमा कांग्रेसले बहुमतको अभियान सुरु गर्नुपर्ने बताए । उनले उम्मेदवार चयन गर्न क्रियाशील सदस्यतामाझ प्राइमरी इलेक्सन गर्ने प्रस्तावसमेत अघि सारेका छन् ।

बैठकमा उपसभापति धनराज गुरुङले राजाको नाकमा झिँगा बस्दाको उखान झिके । ‘हामी पार्टीलाई कसरी बलियो बनाउने भनेर लागेका छौं, तपाईंहरू वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिष्कार गर्छु भनिरहनुभएको छ,’ गुरुङले भने, ‘गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत कसको थियो रु अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडिरहनुभएको छ । सभापतिजी तरबारले हान्दा झिँगा मर्छ कि नाक काटिन्छ रु विचार गर्नुहोला ।’

गुरुङले आफूहरूले सभापतिलाई बलियो बनाउने नाममा कचौरामा तेल बोकेर जान नसक्ने बताए । ‘पार्टी बैठकमा वादी–प्रतिवादीझैं भएर आउनुभएको छ, यसरी कस्तो पार्टी बन्छ रु हामी पनि पार्टीका जिम्मेवार मान्छे हौं, पार्टीलाई बलियो बनाउन भनेरै लागेका छौं,’ बैठकमा गुरुङले भने, ‘त्यो भनेर फेरि हामी सभापतिको हात बलियो बनाउन तेलको कचौरा लिएर पाखुरामा लगाउन जानचाहिँ सक्दैनौं ।’

बैठकमा संस्थापन र कोइराला पक्षबीच सरकार र पार्टी सञ्चालनका विषयमा ध्रुवीकरण देखिएपछि देउवाअघि बोलेका उपसभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा जोड दिएका थिए ।

सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले भ्रातृ संस्थाका नेतृत्व मनोनयनमा समेत कोइराला पक्षसँग परामर्श नगरी एकलौटी निर्णय लिइएको भन्दै आपत्ति जनाए । उनीहरूले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर अघि बढ्न सभापतिको ध्यानाकर्षण गरेका छन् । महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा ४० प्रतिशत मत प्राप्त गरेको पक्षलाई बेवास्ता गर्दा एकताको सन्देश नजाने उनीहरूको तर्क थियो ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*