आठराईले युवालाई बिनाब्याज बिनाधितो ऋण दिने

वेलकम खबर
असार २७, २०७९

नेपालको प्रदेश नम्बर १ मा पर्ने पहाडी जिल्लामध्ये तेह्रथुम पनि एक हो । यस जिल्लामा ६ वटा पालिका रहेका छन । त्यसमध्ये आठराई गाउँपालिका पनि एक हो । संक्रान्ति बजार, ह्वाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ र खाम्लालुङ गाविस समेटेर आठराई गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाले छुट्टै महत्व राखेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिको बासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् । यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैंची यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दु रहेको छ ।
नेपालमै प्रसिद्धि पाएको ढाकाटोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्बूहरूको धाननाच, तामाङहरूको तामाङ सेलो, बालुन नाच, ब्राह्मणले वजाउने नौमती बाजा यस क्षेत्रलाई चिनाउने प्रमुख विशेषताहरू हुन् ।
उत्तरदेखि दक्षिणतिर भिरालो परेको सुन्दर लिम्बूवान बस्ती भएको यो क्षेत्रको नामकरणका बारे विभिन्न किंंवदन्ती रहेका छन् । यस क्षेत्रको नाम आठराई रहनुमा एउटा ऐतिहासिक प्रसङ्ग जोडिएको छ । आठ जना रायले धरानको फुस्रेबाट भारी बोकेर आउँदा बास बस्ने ठाउँ संक्रान्ति डाँडामा रहेछ र बास बसेको ठाउँमा राति गफ गर्दै जाँदा यस क्षेत्रमा लिम्बूहरूको राज्य गर्ने मानिस नभएको हुनाले अब हामीले यस ठाउँको राज्य गर्नुपर्छ भनी राज्य गर्ने निधो गरेर राज गर्न थाले र आठ रायहरूले राज्य गरेको क्षेत्र हाल अपभ्रंश हुँदै आठराई नाम रहन गएको हो भन्ने किंवदन्ती पाइन्छ ।
यसरी यस क्षेत्रको नामाङ्कन लिम्वूहरूबाट नै भएको हो भन्ने आधारको रूपमा यस क्षेत्रका अधिकांश टोलका नाम पनि लिम्बू भाषाबाट नै नामाङ्कन भएबाट स्पस्ट हुन्छ । जस्तै— फुङसेङ, नासिवुङ, खाम्लालुङ, फाक्चुवा, लिसेवुङ, साम्थाङ, लिङ्देन, पाक्तेन, थोक्लुङ, फुङ्नाम आदि उख्लेख्य रहेका छन् ।
त्यस्तै आठराई लिम्बूहरूको बसोबास बढी भएको क्षेत्र हुनाले यस क्षेत्रमा अधिकांश ठाउँका नाम लिम्बू भाषामा नै राखिएजस्तै लिम्बू वंशावलीमा पनि तेह्रथुम जिल्लाको नामकरणको सम्बन्धमा किंवदन्ती पाइन्छ । वंशावलीअनुसार मोरङ राज्यको साङलाइङ राजाका भाइ सिदिइङ फेदाप पहाडमा बसेको अनुमान गरिएको छ । उनले दरबारका हिन्दू पुरोहितको भनाइमा लागेर आफ्नो नामसमेत ‘अमर राय’ राखे । त्यसैको अनुसरण उनका सन्तानहरूले गरेका थिए । त्यसबेला फेदापमा ६ रायहरू भए र यसका साथै उत्तरी फेदापमा सात रायहरू भए ।
नेपालको पूर्वाञ्चलको धनकुटा गौंडामा त्यसबेला सत्र थुमको तिरो बुझाउने कार्य हुन्थ्यो, जसलाई दस लिम्बूवान र सत्र थुम भनेर अहिले पनि भनिन्छ । पछि फेदाप र उत्तरी फेदापका ६ राय र सात रायलाई मिलाई छुट्ट्याएर तेह्रथुम बनाइयो । यी माथिका किंवदन्तीबाट के स्पष्ट हुन्छ भने तेह्रथुम जिल्लाको नामकरण तिरो उठाउने सम्बन्धबाट भएको बुझिन्छ ।
वि.सं. १९५२ मा सर्भे नापी हुँदा १३ वटा थुमहरू मिलाएर हालको सदरमुकाम रहेको म्याङ्लुङमा मालपोत उठाउन माल अड्डा स्थापना गरेपछि यसको नाम तेह्रथुम रहेको हो । वि.सं. २०२२ मा ७५ जिल्लामा मालअड्डा खडा भएपछि यस जिल्लाका १३ वटा थुममध्ये पाँचथर जिल्लामा पाँचथर थुम नुभो उत्तर र नुभो दक्षिण, ताप्लेजुङ जिल्लामा तमोरखोला, मैवाखोला, मेवाखोला र याङ्रूप थुमहरू र संखुवासभा जिल्लामा पाँचखपन, चैनपुर, सभाउत्तर, संखुवाउत्तर र दसमझिया थुमहरू गाभिएको हुनाले अनि बाँकी रहेका फेदाप, आठराई रछ थर गरी यस जिल्लामा हाल तीनवटा थुम मात्र कायम रहेका छन् ।
वि.सं २०१९ अघि यस जिल्लाको प्रशासन धनकुटाबाट चलाउने गरिएको थियो । वि.सं २०१९ मा म्याङ्लुङमा जिल्लाको प्रशासन स्थापना भएपछि तेह्रथुम जिल्ला कायम भई आफ्नै अस्तित्वमा रहन गएको हो । हाल यस गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय स्थापना भई सेवा सञ्चालन हुँदै आएको छ ।
यस गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवाहरूलाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेको युवाहरूलाई बिनाधितो बिनाब्याज व्यावसायिक लगानी गर्ने भएको छ । गाउँपालिकाको सबै वडामा १० जनाको समूह बनाई एक वडा एक समूहलाई १० लाख रुपैयाँ लगानी गर्ने नीति ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
उनका अनुसार गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, ४ चार वर्षमा ३० प्रतिशत र पाँचौं वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ । उनी भन्छन्, “युवाहरू रोजगारी गर्न लगानी नपाएर भौंतारिरहेकाले हामीले केही गर्न खोज्ने युवाहरूका लागि यो कार्यक्रम अघि सारेका हांै । व्यावसायिक रूपमा फर्म दर्ता गरी १० जनाको समूह बनाएर गाउँपालिकामा माग गरेको खण्डमा प्रत्येक वडामा हरेक वर्ष एउटा समूहलाई १० लाख रुपैयाँ लगानी गर्छाैं । व्यवसाय सञ्चालन गर्दै तीन वर्षदेखि लगानी फिर्ता गरी पाँचांै वर्षमा भने चुक्ता गर्नुपर्नेछ ।”
त्यस्तै गाउँपालिकाले केन्द्रीय र प्रदेश सरकारले समावेश गर्न नसकेका एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेको छ । ६० वर्षदेखि माथि र ६८ वर्षसम्मका एकल पुरुषहरूलाई गाउँपालिकाले मासिक १ हजार दिने तयारी गरेको हो ।
यो कार्यक्रमले गाउँपालिकामा रहेका सहाराविहीन तथा आर्थिक रूपमा कमजोर परिवारका एकल पुरुषलाई राहत मिल्ने भएको छ । गाउँपालिका क्षेत्रमा रहेका नागरिकहरूलाई आकस्मिक सेवाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । त्यस्तै पालिकाभित्र मृत्यु भएका नागरिकको हकमा किरिया खर्च १० हजारसहित समवेदना प्रकट गर्ने भएको छ ।
भौतिक पूर्वाधार क्षेत्रअन्तर्गत बहुजातीय संग्रहालय निर्माण गरिने भएको छ । संग्रहालयमा विभिन्न जातजातिको कला, संस्कृति, वेशभूषा तथा ऐतिहासिक वस्तुहरू संकलन गरी राखिने भएको छ ।
पालिकाले सडक निर्माणका लागि रिङरोडको अवधारण अगाडि सारेको छ । गाउँपालिकाका वडाहरूमा निर्माण भएका सडकहरूलाई मर्मत तथा बिस्तार गर्दै लैजाने भएको छ । खेलकुद क्षेत्रमा गाउँपालिका अध्यक्ष रनिङ कप सञ्चालन गरिने भएको छ । शिक्षा क्षेत्रमा गाउँपालिका क्षेत्रमा रहेको बिद्यालयमा भाषा शिक्षकहरूको तलब वृद्धि गर्दै एकरूपता ल्याएको छ । त्यस्तै गाउँपालिकाको सबै विद्यालयमा ई–हाजिरी जडान गरिने भएको छ ।
महिलाहरूलाई व्यावसायिक बनाउन ढाका बुनाइ, सिलाइकटाइ तालिम, उपकरण प्रदान गरिने भएको छ । कृषिक्षेत्रमा विवभन्न वडाहरूमा पकेट कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रत्येक वडामा कृषि संकलन केन्द्र तथा कोलस्टोर स्थापना गरिने भएको छ । एक वडा एक खेलमैदान निर्माण गरिने नीति ल्याएको छ । बृहत् आठराई खानेपानी आयोजना सञ्चालन गरिने भएको छ ।
पशु उन्नत जातका बोयर बोका वितरण, गोठ सुधार कार्यक्रम, च्याक्टर मेसिन वितरण गरिने भएको छ । दोस्रो स्थानीय निर्वाचन, २०७९ सम्पन्न भएपश्चात् निर्वाचित जनप्रतिनिधिहरूले गाउँपालिकालाई समृद्ध बनाउन नयाँ तथा पृथक् योजनाहरू ल्याएका छन् ।कारोवार दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*