आठराईले युवालाई बिनाब्याज बिनाधितो ऋण दिने
नेपालको प्रदेश नम्बर १ मा पर्ने पहाडी जिल्लामध्ये तेह्रथुम पनि एक हो । यस जिल्लामा ६ वटा पालिका रहेका छन । त्यसमध्ये आठराई गाउँपालिका पनि एक हो । संक्रान्ति बजार, ह्वाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ र खाम्लालुङ गाविस समेटेर आठराई गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाले छुट्टै महत्व राखेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिको बासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् । यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैंची यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दु रहेको छ ।
नेपालमै प्रसिद्धि पाएको ढाकाटोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्बूहरूको धाननाच, तामाङहरूको तामाङ सेलो, बालुन नाच, ब्राह्मणले वजाउने नौमती बाजा यस क्षेत्रलाई चिनाउने प्रमुख विशेषताहरू हुन् ।
उत्तरदेखि दक्षिणतिर भिरालो परेको सुन्दर लिम्बूवान बस्ती भएको यो क्षेत्रको नामकरणका बारे विभिन्न किंंवदन्ती रहेका छन् । यस क्षेत्रको नाम आठराई रहनुमा एउटा ऐतिहासिक प्रसङ्ग जोडिएको छ । आठ जना रायले धरानको फुस्रेबाट भारी बोकेर आउँदा बास बस्ने ठाउँ संक्रान्ति डाँडामा रहेछ र बास बसेको ठाउँमा राति गफ गर्दै जाँदा यस क्षेत्रमा लिम्बूहरूको राज्य गर्ने मानिस नभएको हुनाले अब हामीले यस ठाउँको राज्य गर्नुपर्छ भनी राज्य गर्ने निधो गरेर राज गर्न थाले र आठ रायहरूले राज्य गरेको क्षेत्र हाल अपभ्रंश हुँदै आठराई नाम रहन गएको हो भन्ने किंवदन्ती पाइन्छ ।
यसरी यस क्षेत्रको नामाङ्कन लिम्वूहरूबाट नै भएको हो भन्ने आधारको रूपमा यस क्षेत्रका अधिकांश टोलका नाम पनि लिम्बू भाषाबाट नै नामाङ्कन भएबाट स्पस्ट हुन्छ । जस्तै— फुङसेङ, नासिवुङ, खाम्लालुङ, फाक्चुवा, लिसेवुङ, साम्थाङ, लिङ्देन, पाक्तेन, थोक्लुङ, फुङ्नाम आदि उख्लेख्य रहेका छन् ।
त्यस्तै आठराई लिम्बूहरूको बसोबास बढी भएको क्षेत्र हुनाले यस क्षेत्रमा अधिकांश ठाउँका नाम लिम्बू भाषामा नै राखिएजस्तै लिम्बू वंशावलीमा पनि तेह्रथुम जिल्लाको नामकरणको सम्बन्धमा किंवदन्ती पाइन्छ । वंशावलीअनुसार मोरङ राज्यको साङलाइङ राजाका भाइ सिदिइङ फेदाप पहाडमा बसेको अनुमान गरिएको छ । उनले दरबारका हिन्दू पुरोहितको भनाइमा लागेर आफ्नो नामसमेत ‘अमर राय’ राखे । त्यसैको अनुसरण उनका सन्तानहरूले गरेका थिए । त्यसबेला फेदापमा ६ रायहरू भए र यसका साथै उत्तरी फेदापमा सात रायहरू भए ।
नेपालको पूर्वाञ्चलको धनकुटा गौंडामा त्यसबेला सत्र थुमको तिरो बुझाउने कार्य हुन्थ्यो, जसलाई दस लिम्बूवान र सत्र थुम भनेर अहिले पनि भनिन्छ । पछि फेदाप र उत्तरी फेदापका ६ राय र सात रायलाई मिलाई छुट्ट्याएर तेह्रथुम बनाइयो । यी माथिका किंवदन्तीबाट के स्पष्ट हुन्छ भने तेह्रथुम जिल्लाको नामकरण तिरो उठाउने सम्बन्धबाट भएको बुझिन्छ ।
वि.सं. १९५२ मा सर्भे नापी हुँदा १३ वटा थुमहरू मिलाएर हालको सदरमुकाम रहेको म्याङ्लुङमा मालपोत उठाउन माल अड्डा स्थापना गरेपछि यसको नाम तेह्रथुम रहेको हो । वि.सं. २०२२ मा ७५ जिल्लामा मालअड्डा खडा भएपछि यस जिल्लाका १३ वटा थुममध्ये पाँचथर जिल्लामा पाँचथर थुम नुभो उत्तर र नुभो दक्षिण, ताप्लेजुङ जिल्लामा तमोरखोला, मैवाखोला, मेवाखोला र याङ्रूप थुमहरू र संखुवासभा जिल्लामा पाँचखपन, चैनपुर, सभाउत्तर, संखुवाउत्तर र दसमझिया थुमहरू गाभिएको हुनाले अनि बाँकी रहेका फेदाप, आठराई रछ थर गरी यस जिल्लामा हाल तीनवटा थुम मात्र कायम रहेका छन् ।
वि.सं २०१९ अघि यस जिल्लाको प्रशासन धनकुटाबाट चलाउने गरिएको थियो । वि.सं २०१९ मा म्याङ्लुङमा जिल्लाको प्रशासन स्थापना भएपछि तेह्रथुम जिल्ला कायम भई आफ्नै अस्तित्वमा रहन गएको हो । हाल यस गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय स्थापना भई सेवा सञ्चालन हुँदै आएको छ ।
यस गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवाहरूलाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेको युवाहरूलाई बिनाधितो बिनाब्याज व्यावसायिक लगानी गर्ने भएको छ । गाउँपालिकाको सबै वडामा १० जनाको समूह बनाई एक वडा एक समूहलाई १० लाख रुपैयाँ लगानी गर्ने नीति ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
उनका अनुसार गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, ४ चार वर्षमा ३० प्रतिशत र पाँचौं वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ । उनी भन्छन्, “युवाहरू रोजगारी गर्न लगानी नपाएर भौंतारिरहेकाले हामीले केही गर्न खोज्ने युवाहरूका लागि यो कार्यक्रम अघि सारेका हांै । व्यावसायिक रूपमा फर्म दर्ता गरी १० जनाको समूह बनाएर गाउँपालिकामा माग गरेको खण्डमा प्रत्येक वडामा हरेक वर्ष एउटा समूहलाई १० लाख रुपैयाँ लगानी गर्छाैं । व्यवसाय सञ्चालन गर्दै तीन वर्षदेखि लगानी फिर्ता गरी पाँचांै वर्षमा भने चुक्ता गर्नुपर्नेछ ।”
त्यस्तै गाउँपालिकाले केन्द्रीय र प्रदेश सरकारले समावेश गर्न नसकेका एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेको छ । ६० वर्षदेखि माथि र ६८ वर्षसम्मका एकल पुरुषहरूलाई गाउँपालिकाले मासिक १ हजार दिने तयारी गरेको हो ।
यो कार्यक्रमले गाउँपालिकामा रहेका सहाराविहीन तथा आर्थिक रूपमा कमजोर परिवारका एकल पुरुषलाई राहत मिल्ने भएको छ । गाउँपालिका क्षेत्रमा रहेका नागरिकहरूलाई आकस्मिक सेवाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । त्यस्तै पालिकाभित्र मृत्यु भएका नागरिकको हकमा किरिया खर्च १० हजारसहित समवेदना प्रकट गर्ने भएको छ ।
भौतिक पूर्वाधार क्षेत्रअन्तर्गत बहुजातीय संग्रहालय निर्माण गरिने भएको छ । संग्रहालयमा विभिन्न जातजातिको कला, संस्कृति, वेशभूषा तथा ऐतिहासिक वस्तुहरू संकलन गरी राखिने भएको छ ।
पालिकाले सडक निर्माणका लागि रिङरोडको अवधारण अगाडि सारेको छ । गाउँपालिकाका वडाहरूमा निर्माण भएका सडकहरूलाई मर्मत तथा बिस्तार गर्दै लैजाने भएको छ । खेलकुद क्षेत्रमा गाउँपालिका अध्यक्ष रनिङ कप सञ्चालन गरिने भएको छ । शिक्षा क्षेत्रमा गाउँपालिका क्षेत्रमा रहेको बिद्यालयमा भाषा शिक्षकहरूको तलब वृद्धि गर्दै एकरूपता ल्याएको छ । त्यस्तै गाउँपालिकाको सबै विद्यालयमा ई–हाजिरी जडान गरिने भएको छ ।
महिलाहरूलाई व्यावसायिक बनाउन ढाका बुनाइ, सिलाइकटाइ तालिम, उपकरण प्रदान गरिने भएको छ । कृषिक्षेत्रमा विवभन्न वडाहरूमा पकेट कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रत्येक वडामा कृषि संकलन केन्द्र तथा कोलस्टोर स्थापना गरिने भएको छ । एक वडा एक खेलमैदान निर्माण गरिने नीति ल्याएको छ । बृहत् आठराई खानेपानी आयोजना सञ्चालन गरिने भएको छ ।
पशु उन्नत जातका बोयर बोका वितरण, गोठ सुधार कार्यक्रम, च्याक्टर मेसिन वितरण गरिने भएको छ । दोस्रो स्थानीय निर्वाचन, २०७९ सम्पन्न भएपश्चात् निर्वाचित जनप्रतिनिधिहरूले गाउँपालिकालाई समृद्ध बनाउन नयाँ तथा पृथक् योजनाहरू ल्याएका छन् ।कारोवार दैनिकबाट



















