सीपीसीका नेता लिउ काठमाडौंमा
काठमाडौँ । नेपालको चार दिने भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार साढे १० बजे काठमाडौं आइपुगेका छन् ।
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका लिउले आइतबार बेलुकी करिब ४ बजे परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार र त्यसपछि बेलुकी साढे ६ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटवार्ता गर्ने छन् ।
लिउ त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट द्वारिकाज होटलमा गएका छन् । त्यहाँ आराम गरेर बेलुकीबाट उनले भ्रमणको सुरुवात गर्ने कूटनीतिक स्रोतले बतायो ।
परराष्ट्र स्रोतका अनुसार लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार साँझ मेरियट होटलमा रात्रिभोजको आयोजना समेत गरेका छन् । चीनको विदेश नीति र सम्बन्धमा सीपीसी विदेश विभागले महत्त्वपूर्ण भूमिका राख्छ । त्यसको कारणले पनि लिउको भ्रमणलाई प्राथमिकताका साथ हेरिएको छ ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए । नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्नटनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो ।
नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । पहिलो दिन कांग्रेसका नेता र प्रधानमन्त्रीलाई भेटेपछि लिउले दोस्रो दिनबाट राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य कम्युनिष्ट नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउ केही दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउको नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेको थियो । यस्तै, लिउले असार १६ मा कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग द्वीपक्षीय भर्चुअल संवाद गरेका हुन् ।
नेपालमा २०७४ को निर्वाचनयता ५ वर्षमा फेरि संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । २०७४ मा निर्वाचन हुनु एमाले र माओवादी केन्द्रलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि नेकपा बन्नको लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको थियो । तर चिनियाँ पक्षको सहयोग र सद्भावबीच नेकपा फुटेर पहिलेकै अवस्थामा आइपुग्यो । र, नेपालमा चीनले चाहेको कम्युनिष्ट नेतृत्वको सरकार ढल्यो । चीनले लगातार रुपमा नेपालमा कम्युनिष्टहरु मिल्नु पर्छ भन्दै आइरहेको छ । तर चीनले चाहे जस्तो नेपालमा वातावरण बनेको छैन ।



















