दलीय सङ्गठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव

वेलकम खबर
असार १९, २०७९

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ सङ्गठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनद्वारा आज आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति : अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उहाँले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु राजनीतिबाट टाढा विषय नभए पनि दल र सङ्गठनबाट विरोधका नाममा तालाबन्दीजस्ता विकृत क्रियाकलापन हुनु उचित नभएको धारणा राख्नुभएको हो ।उहाँले सत्तारूढ दलनिकटकै सङ्गठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेको सन्दर्भ उल्लेख गर्दै राजनीतिक क्षेत्रले विश्वविद्यालयहरूलाई सहीरूपमा सञ्चालनका लागि राजनीति गर्नुपर्ने बताउनुभयो ।

हरेक विषयलाई सहीरूपमा सञ्चालन गर्ने, मुलुकमा कति र कस्ता जनशक्ति आवश्यक हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच र विश्वविद्यालयका नेतृत्वबीचको तादात्म्यता हुन आवश्यक भएकाले राम्रा विश्वविद्यालयमा प्राध्यापकहरूले विद्यार्थीलाई नेतृत्व विकासका लागि मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आँकडाहरूले दुर्गमका आम जनतामा उच्च शिक्षाको पहुँच पुग्न नसकेको र गुणस्तरीय सिकाइमा प्राध्यापकहरूमा जिम्मेवारी नभएको स्थितिप्रति सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रा रमेश भट्टराई र प्रा डा विनिल अर्यालले कार्यपत्रमा विश्वविद्यालयहरुमा चरम राजनीतिक हस्तक्षेप भएको जनाउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*