चट्याङका कारणा एकै दिन ६ जनाको मृत्यु

वेलकम खबर
असार १५, २०७९

काठमाडौ । कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम) मा चट्याङ लागेर छ जनाको ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका–३, मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको खाली जग्गामा रोपाइँ गर्ने क्रममा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर आज बिहान घटनास्थलमै मृत्यु भएको छ ।

कैलालीकै कैलारी गाउँपालिका–१, रानामुरा गाउँकी ५६ वर्षीया सुगपंखी देवी चौधरीको घर नजिकैको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर आज बिहान ज्यान गएको छ । चट्याङ् लागेपछि अशक्त भएकी उनको उपचारको निम्ति सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ न गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका–८ क गाउँ बस्ने २५ वर्षीया शारदा थापाको आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर आजै बिहान ज्यान गएको छ ।

यता रूपन्देहीको सियारी गाउँपालिका–२, च्याङ्ठा बस्ने ४५ वर्षीय रामनाथ बरईको खेतमा काम गरिरहेको अवस्थामा र नवलपरासी ९पश्चिम० को सुनवल नगरपालिका–९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको रोपाईं गर्ने क्रममा चट्याङ लागेर आज बिहान मृत्यु भएको छ ।

रामग्राम नगरपालिका–१० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाइँ गरिरहेका बेला चट्याङ लागेर अशक्त भएकी चौधरीको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*