मन्त्री पदबाट हटाउन माग गर्दै आलेविरूद्ध सर्वोच्चमा रिट दर्ता

वेलकम खबर
असार ९, २०७९

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। आलेलाई मन्त्री पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो।

न्यायाधीश टंक मोक्तानको आदेशपछि सर्वोच्चले बिहीबार रिट दर्ता गरेको हो। शुक्रबार रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको छ।
यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। त्यसविरुद्ध पनि अधिवक्ताद्वय किशोरकुमार पौडेल र अनुपम भट्टराईले निवेदन दिएपछि मोक्तानको इजलासले दरपीठ बेरितको देखिएको भन्दै बदर गरिदिएको थियो। मन्त्री आलेको व्यवहार पटक पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको रिटमा उल्लेख छ।

रिटमा भनिएको छ, ‘निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ। निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ।’ यसअघि मन्त्री आलेविरुद्ध पौडेलसहितले नै संघीय संसद सचिवालयमा पनि उजुरी दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*